Wednesday, August 15, 2018

‘सिन्दुर–टीका–पोते नलगाउने मोर्डन बुहारी’।


–शौरभ राज पन्त

अनुपमा दि, हैन भाउजु के भा’को बिहे गरेको ५ महिना पनि भा’छैन, सिन्दुर, टीका, पोते केही लगाएको देखिदैन त ! खै, त्यही भन्या, आजकाल त के हो के हो । मैले २ वर्षसम्म सिन्दुर, टीका, पोते लगाउन छोडिन । मोर्डन बुहारी काम नलाग्ने रहेछ है दि । खै आकांक्षा, हाम्रो अनुज यहीँ केटीमा त्यतिबेला मरिहत्ते गर्यो । बाबाले त विवाह नगर भनेको हो नि । के सुन्याहो र अनुले । मायामा पागल झै भाको थियो । साँच्चि अनुपमा दि,  अनु दा (अनुज) यो भाउजुलाई त्यही सिकागोमा पढ्दा भेटेको होइन र ? खै मैले पनि त्यहि सुनेको हो । अनुको त घाँटी बसिरहन्छ त, घाँटी बसेर टन्सिल नै भाको थियो रे त्यही बेला ड्ररमिटरी मा आएर (युनर्भसिटी अफ सिकागो ) मा केयर गरेकी थिई रे । त्सपछि लभ परेको रे भनेर मा ले भन्नु भा’को थियो । तँ र मलाई पनि त अनुले बोलाएको थियो नि घुम्न , सिकागोमा हैन । त्यति बेला मैले देख्दा त राम्रै बानी ब्यहोरा जस्तो लागेको थियो । अनुले हामी आउने भने पछि एक महिनाको लागि साथिको एपार्टमेन्ट मिलाएको थियो । त्यति बेला हामीले यो संग बसेर खसीको मासुको बार.बी. क्यु गरेको होइन र ? त्यति बेला मलाई दिज्यु भनेर कति मान्थि । साच्चै दि, त्यो बेला भाउजुले नाक छेडेको थिएन हो ? कहाँ छेड्नुनी विवाह गर्ने बेलामा त्यही डिल्लीबजारको बाडाको पसलमा गएर छेडेको होइन त ? ए हो त नी ।


अनुपमा दि, हैन हजुरलाई पनि आजकाल दर्शन गर्न छोडिसकेको हो र भाउजुले ? खै, विवाह गर्दा सुरुको दिनमा त दिज्यु दर्शन भन्थि आजकाल त भन्ने चलन हराएको छ क्यार । हिजो म बिहाननै ट्याक्सीबाट ओर्लदा झयालबाट मलाई हेरेर मुसुक्क हाँसेकी थिई । गेट खोलेर भित्र पस्दा, अनु गमलाको फुलमा पानि हाल्दै थियो । ए ! अनुपे आइस भन्यो । अंगाले मार्यो अनि मेरो सामान बोकेर भित्र लग्यो । कोठामा छिर्दा, म्याक्सी लगाएर बसेकी रहेछ । हतनपत भित्र गई अनि कुर्ता लगाएर आई । म सोफामा बसिरहेको थिए । के छ दिज्यु मात्र भनि । दर्शन गर्ने चलन त हराए छ क्यार । त्यही भन्या दि, मलाई पनि पहिला पहिला त, भन्सामा गयो भने मैंया काम नगरिसो । म आफै गर्छु भन्थि । अगि विहानको कुरा हो । म तरकारी ओइरेर पूजा कोठा जान्छु , मैंया हजुर भाडा माझिसो है भनेर त मुखखै फोरेर भनि भन्या । हो है । अनुलाई पुरै आफ्नो बसमा घुमाई सकि भन्या । अगि दिउँसो मा ले कौसीमा मुलाको अचार खाँद्दा भन्नु भा, बुहारी भनेको त केही कुरा आजकाल अनुले काट्दै न रे । पुरै गोबर गणेश बनाईसकि छ रे । हो है दि, पहिला त हामीलाई कति मतलव गथ्र्यो है । तँ लाई थहाँ छ आकांक्षा, अनु एकचोटी फ्रान्स गएको थियो नि त्यहि एन.जि.ओ को काममा , त्यो बेला फर्केर आउँदा तँलाई डाईओर को लिपिस्टक र मलाई मेस्केरा ल्याईदिएको थियो नि । याद छ ? याद छ नि दि, किन नहुने । त्यो बेलामा त विचरा दाईको के कमाई थियो र अहिले त पिएचडी गरेपछि कमाउ छ नि । यहिले त केही ल्याएर दिदैन । अस्तिमात्र न्यूर्योक २ महिना बसेर आएको हैन दाई केही ल्याईदिएन । थहा छ दि, मैले अगि दिउँसो चिया खाने बेला सोधेको थिए दाईलाई, दा मलाई के ल्याईदियौं त न्यूर्योकबाट भनेर सोध्दा के भन्यो थहा छ ? नानी हेर आजकाल इमिग्रेसनमा त बढी सामान हाल्नै दिदैन । किचकिच गर्छ । केही ल्याउनै पाइएन हेर् नानी भन्यो । मलाई भन्न मन लागि रहेको थियो तर केही भनिन । हेर आकांक्षे , नछुने भएको बेला पनि केही बार दिन रे । अनु संगै सुत्छे रे भनेर मा ले दिउँसो दुखेसो पोख्दै हुनुहुन्थ्यो । है दि, के हो के हो । बुझन सकिन्न । धेरै पढेको भित्राए पछि यस्तै हुन्छ ।

दि, यसपालिको तीजको दर कहाँ खाने हो? आइसक्यो त १ महिना नि छैन । खै म त नेपालमा हुन्न कि क्या हो ? तेरो भिनाजुले जेनेभा तिर जाने घुम्नलाई भन्स्याछ । जेनेभा दि ! भिनाजुको कार्यक्रम हो ? त्यही डब्लु. टि. ओ को कार्यक्रम छ रे । १ महिना बस्न मिल्छ रे । हामी सबै परिवाररै जाने कुरा भा’को छ । मोज छ है दि, भेनालाई ? के मोझ हुनु । यो नयाँ सरकार आएर त सरकारी कर्मचारीलाई सारै गाह्रो गरेको छ । १० बजे भन्दा एक मिनेट ढिलो पुग्यो भने गयल पारिदिन्छ रे । अनि आकांक्षे तँ त आउने हो ला नी हैन ? खै त्यो बेला मेरो महिना पुग्ला जस्तो छ । हेरम के हुन्छ ।

ल आकांक्षे सुत रातिको १२ पनि नाघ्न लागि सक्यो । भोलि चाडै उठ्नु पर्छ बुझ्सि । भोलि तेरो भाउजको हातको चिया त ८ बजे मात्र खान पाइने होला । त्यो भन्दा पहिला हामीले बनाएर खानुपर्छ, बुझिस् । (दुवै जना हाँस्न थाले ) ।
Originally published  in https://www.nayagoreto.com/category/%E0%A4%B2%E0%A5%87%E0%A4%96 (समाजमा महिला विकासबारे चर्को चर्को नारा लगाए पनि परिवार भित्रैबाट एउटा महिला अर्को महिलाबाट पीडित भएको देखिन्छ । )

No comments:

Post a Comment